राजर्षिजनक विश्वविद्यालयको ११औं सभा बैठक जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा माननीय शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति श्री सस्मित पोख्रेलज्यूको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भएको छ । राष्ट्रिय गानबाट प्रारम्भ भएको उक्त बैठकमा रजिष्ट्रार डा. जिवन काफ्लेले सभा सञ्चालन गर्नुभएको थियो भने उपकुलपति प्रा.डा. श्याम नारायण लाभज्यूले स्वागत मन्तव्यसहित बैठकको विषय – प्रवेश गराउनुभएको थियो । बैठकमा राजर्षिजनक विश्वविद्यालयको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन छलफल गरियो, प्रतिवेदन बमोजिम विश्वविद्यालयमा गत आ.व. मा २० वटा शैक्षिक कार्यक्रमहरूमा जम्मा ५,९२७ विद्यार्थी अध्ययनरत रहेको छ । साथै, आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि पुँजीगततर्फ रु. २१,०८,९५,०००/- र सञ्चालनतर्फ रु. ३०,०८,०७,०००/- गरी कुल रु. ५१,१७,०२,०००/- (एकाउन्न करोड सत्र लाख दुई हजार) को अनुमानित बजेट तथा कार्यक्रम पारित गरिएको छ । उक्त बजेटका लागि विश्वविद्यालय अनुदान आयोगबाट रु. ३१,२४,३०,०००/- र आन्तरिक आयस्रोतबाट रु. १९,९२,७२,०००/- सङ्कलन गर्ने लक्ष्य राखिएको छ । विश्वविद्यालयको प्राज्ञिक गरिमा वृद्धि गर्न, राष्ट्रिय दायरा विस्तार गर्न र बजारको माग अनुसार व्यवस्थापन, कानून, तथा IT विषयहरू सञ्चालन गर्न काठमाडौँ उपत्यकामा एक सुविधायुक्त आङ्गिक क्याम्पस स्थापना गर्न अध्ययन प्रक्रिया अगाडी बढाउने ऐतिहासिक निर्णय समेत सभाले गरेको छ । यसका साथै, डीन पदको छनौट प्रक्रियामा सहजीकरण गर्न संगठन संरचना तथा व्यवस्थापन नियमावली, २०७५ को नियम १०० मा संशोधन गरी अवकाश प्राप्त प्राध्यापक वा विद्यावारिधि गरी विषयगत विज्ञताको ५ वर्षको अनुभव हासिल गरेका विषयगत विज्ञहरूलाई पनि छनौट दायरामा ल्याउने व्यवस्था गरिएको छ । बैठकले कार्यकारी परिषद्को सदस्य पदमा विज्ञान प्रविधि तथा इन्जिनियरिंग संकायको डीन प्रा.डा. विद्यासागर वर्मा, व्यवस्थापन संकायका नि. डीन सह प्राध्यापक डा. सरोज कुमार ठाकुर र शिक्षकहरु मध्ये उप प्राध्यापक श्री राजीव कुमार पाण्डेयलाई भएको मनोनयनलाई सभाले अनुमोदन गरेको छ । आगामी कार्यक्रम अन्तर्गत मधेश प्रदेशको बारा जिल्लामा IT विषयमा अध्ययन अध्यापन गराउन स्थापना गर्न स्वीकृत भएको महागढ़ीमाई बहुमुखी आंगिक क्याम्पसको भौतिक पूर्वाधार, पठनपाठनको सुनिश्चितता तथा प्रशासनिक कार्य सञ्चालन गर्न आवश्यक सम्पूर्ण व्यवस्थापकिया कार्यहरु अगाडि बढाईनेछ । त्यस्तै धनुषा जिल्ला नगराइन नगरपालिका अन्तर्गत प्राप्त जग्गामा DPR अनुसार नयाँ शैक्षिक भवन निर्माण प्रारम्भ गर्ने, L.M.S. र UNI-Campus System मार्फत पूर्ण डिजिटलाइजेशन लागू गर्ने, ‘Research and Innovation’ संयन्त्र स्थापना गर्ने तथा दोस्रो दीक्षान्त समारोह आयोजना गर्ने लक्ष्य राखिएको छ । बैठकको अन्त्यमा माननीय सहकुलपति श्री सस्मित पोख्रेलज्यूको सम्बोधन, रजिष्ट्रार डा. जिवन काफ्लेज्यूको धन्यवाद ज्ञापन र सामूहिक तस्बिर खिचाएसँगै सभाध्यक्षबाट बैठक विसर्जन गरिएको थियो ।








